एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा, यस्तो छ उनको भ्रमण तालिका…

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा गएराति एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका महासचिव गुटेरेसलाई स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै पुग्नु भएको थियो।

उहाँले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै आजै गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै परराष्ट्रमन्त्री साउदसँग पनि महासचिव गुटेरेसले भेट गर्ने कार्यक्रम रहेको छ।भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ। महासचिव गुटेरेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई संसद् भवनकै स्काई हलमा सामूहिक भेट गर्ने कार्यक्रम पनि तय भएको छ।

महासचिव गुटेरेस आइतवार राती प्रधानमन्त्री दाहालले दिने रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रम छ। सोमबार महासचिव गुटेरस जलवायु परिवर्तनको असरको जानकारी लिन सोलुखुम्बुको स्याङ्बोचे जानु हुनेछ भने सोमबार साँझ पोखरा जाने कार्यक्रम रहेको छ।मंगलबार विहान पोखराबाट अन्नपूर्ण आधार शिविरको छोटो पदयात्रामा जाने कार्यक्रम पनि रहेको छ।

एबीसीबाट फर्केपछि सोही दिन पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँ वुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम रहेको छ।मंगलबार नै लुम्बिनीबाट फर्केर अपरान्ह ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नु हुनेछ। महासचिव गुटेरेस असोज २७ गतेनै नेपाल आएर संसद्मा सम्बोधन गर्ने तयारी भएको तर इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणका कारण भ्रमण रोकिएको थियो।