नेपालले पनि इजरायल–हमास युद्ध रोक्ने पक्षमा गर्यो मतदान

काठमाडौं। नेपालले इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो। युद्ध विरामको पक्षमा नेपालसहित एक सय २० देशले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा १४ देशले मतदान गरेका छन्। ४५ देश मतदानमा सहभागी भएनन्। बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ।

बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै हमासको अत्याचार सहेर नबस्ने बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ।