काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा सञ्चालन

काठमाडौं। बडा दसैंअन्तर्गत आज मुख्य दिन विजयादशमी,आज मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद लिएर मनाईँदै छ। आज टीकाको दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। बस दुईवटा रूटमा चल्ने छ। बस सेवा बिहान ८ः३० बजेबाट सुरू हुनेछ। दुईवटा बसले सेवा दिने प्रहरीले जानकारी दिएको छ।

रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल,थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्ने छ।

दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ। दुवै बस सेवा बिहान ८ः३० र अपराह्न ४ बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ।