एनआरएनएको आरके शर्मा नेतृत्वले गर्‍यो कार्यालयको हल बाहिरै पदभार ग्रहण

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार(आरके)शर्माको नेतृत्वको नयाँ कमिटीले संघको कार्यालय पुगेर पदभार ग्रहण गरेको छ। दसैँको समयमा कार्यालय बन्द भएपनि हल बाहिरै बसेर उनीहरुले पद बहाली गरेका हुन्।

बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो। यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी गरेका छन्। नयाँ कार्यसमितिमा डा.केशव पौडेल,गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन्। कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले,युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्। शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए।