एनआरएनएको नयाँ नेतृत्व नस्वीकार्ने असन्तुष्ट (आरके शर्मा र महेश श्रेष्ठ) पक्षको घोषणा

काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन्। शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन्।

उनीहरूले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए।सहमति विपरीत आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए ।

उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए। उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए।

उनले भने,‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँधली गरेर जितेको स्पष्ट हुन्छ। आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठुलै पहाड पल्टिन्छ। धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन। उहाँहरू सच्चा हुनुहुँदो रहेनछ। गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ,सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्याशी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए। उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उहाँले गैर आवासीय संघ झनै नराम्रो भएको बताए।

उनले भने,‘उहाँहरूले सीमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो। यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ। त्यो प्रयत्न उहाँहरूले गर्नुपर्दथ्यो। सीमित समूहले के गर्न खोज्नुभएको हो? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ? यसले नराम्रो असर पर्छ। यसै पनि अविश्वास थियो। अहिले झनै नराम्रो भएको छ।’ अध्यक्षका प्रत्याशी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने जिकिर गरे।