काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन सुरु भएको छ। काठमाडौंमा आजदेखी सुरु भएको सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।
सम्मेलन अन्तर्गत आज असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ । यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए ।
उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
एनआरएनएको अध्यक्ष पदका लागि चारले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन्। महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ।
सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको थियो । एनआरएनएको संस्थापक अध्यक्ष उपेन्द्र महतो हुन् ।
सम्मेलनमा आज उद्याटन समारोहमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका प्रतिनिधीहरुको सहभागिता थियो । कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ।