एनआरएनए निर्वाचनः उमेदवारत्रय बद्री केसी, महेश श्रेष्ठ र आरके शर्मासँग डिवेट, कसले के भने?

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औं महाधिवेशनको मिति नजिकिएसँगै काठमाडौंमा चुनावी माहोल तिब्र बनेको छ। यहि बिचमा इतिहासमै पहिलो पटक काठमाडौंमा ‘एनआरएनए प्रेसिडेन्टियल डिबेट–२०२३’सम्पन्न गरिएको छ। डिजिटल मिडिया टिभिसण्डे र प्रवास खबरको संयुक्त आयोजनामा संघका अध्यक्षका उमेदवारत्रय डा.बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्रकुमार(आरके)शर्मासँग पत्रकार किरण मरहट्टाले गरेको डिवेटमा उनिहरुले आ आफ्नो खरो दाबेदारी प्रस्तुत गरेका छन्।

डिवेटमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले प्रतिद्वन्दी बद्री केसी र महेश श्रेष्ठलाई आफूले अघि सारेका एजेन्डालाई सघाएर व्याक हुन आग्रह गरेका छन्। आफू वर्तमान उपाध्यक्ष भएकाले नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको भन्दै यसपटक साथ दिन आग्रह गरेका हुन्। शर्माले प्रतिद्वन्द्वीहरुलाई सुदृढ एनआरएनए र समृद्ध नेपाल बनाउने आफ्नो योजनालाई साथ दिन आग्रह गर्दै एउटै कक्षामा पढेर फेल नहुन सुझाव दिए। 

शर्माले भने,‘त्यही कक्षा पढेर फेरि फेल नहुन सुझाव दिन्छु। म अहिले उम्मेदवारी दिएका सबै साथीहरूको एजेन्डा जोडेर अब २० वर्षपछि कसरी समृद्ध नेपाल निर्माण गर्ने भन्नेबारेमा सबैको एजेन्डा एडप्ट गर्छु। मलाई साथ दिनुस्’उनले भने। 

एनआरएनए र देशको दिगो विकासको एजेन्डासहित आफू चुनावी मैदानमा आएको भन्दै शर्माले आफूप्रति सबै नेपालीबाट जुन उत्साह आएको छ त्यसलाई सम्मान गरिदिन पनि आग्रह गरे। उनले आफूलाई कुनै राजनीतिक दलको ट्याग लगाइएको भएपनि त्यसमा कुनै सत्यता नरहेको बरु आफ्नो एजेण्डामा सबै राजनीतिक दलको समर्थन रहेको स्पष्ट पारे।

यस्तै डा.बद्रि केसीले संघ स्थापनाको दिनदेखी नै आँफु सक्रिय रहेको र एनआरएनएको २ दशकको इतिहासमा कहिँपनि कत्ति पनि विचलित नभै आजसम्म अहोरात्र खटिरहेकोले यसपटकको आफ्नो उमेदवारी स्वभाविक भएको बताएका छन्। उनले संघलाई गैर राजनीतिक, गैर जाति, धर्मभन्दा माथी बनाउने योजना रहेको बताएका छन्।

त्यसकारण पनि आँफ्नो समुहमा सबै प्रकारका विचार र सोच भएका विभिन्न पदाधीकारी उमेदवारहरु रहेको बताए। संघमा आँफु सुरुवाती दिनबाटै राजनीतिमुक्त बनाउनुपर्ने धारणा लिएर अगाडी बढिरहेको भन्दै एनआरएनलाई राजनितिक पार्टीले नभै एनआरएनएले पार्टीहरुलाई चलाउनुपर्ने बताए।

उनले भने,‘मैले अघिल्लो कार्यकाल टिके अध्यक्षको रुपमा थोरै समय मात्रै काम गर्नुपर्यो,त्यसले गर्दा सोचे अनुसारको काम गर्न पाइन, अब निर्वाचनबाट मतदाताको मतसहित निर्वाचित भएर ट्र्याक बाहिर हिड्न लागेको एनआरएनएलाई सहि बाटोमा ल्याएर सबैले महसुस गर्ने एनआरएनए बनाएर नेतृत्व सुम्पिने इच्छा हो, ऐले सबैतिरबाट आलोचना बढीरहेको छ त्यो मुक्त गर्न चाहन्छु।’आँफुले त्यो माहौल सृजना गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने योजनामा रहेको सुनाए।  


यस्तै अर्का उमेदवार महेश श्रेष्ठले आजसम्म सबैले गैर आवासीय नेपालीका समस्यामात्रै उठाउने गरेको तर समाधानका उपाय कसैले ल्याउन नसकेको बताएका छन्। त्यसका लागी नै आफ्नो उमेदवारी रहेको बताए। आँफुले उमेदवारीसँगै त्यसको लागी आँफुले स्पष्ट योजना, खाका, विचार लिएर अगाडी बढेको बताए।

उनले भने,‘म मध्यपूर्वमा रहेका श्रमिकका समस्या पनि बुझेको छु,अमेरीकामा रहेका विद्यार्थीका समस्या पनि बुझेको छु,युरोपमा रहेका व्यवसायीका समस्या पनि बुझेको छु, त्यति मात्रै होइन ति समस्या समाधानको स्पष्ट योजना मसँग छ।’ 

पछिल्लो समय विभिन्न तहबाट राजनैतिक आवरणका प्रसंग उठान हुन थालेको भन्दै सबै समेट्नुपर्ने बताए। त्यतिमात्रै नभै गैर आवासीय नेपालीका समस्या समाधानमा राजनैतिक दलहरुले पनि आवाज उठाउने गरेको भन्दै सबै दलहरुलाई समेटेर जानुपर्ने बताए। यद्यपी बाहिर हल्ला गरिएजस्तो आँफु कुनै पार्टीको उमेदवार नभएको प्रष्ट पारे । समग्रमा एनआरएनएको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सोहि क्रममा एनआरएनए सँस्थापक भिम उदासले संघको नेतृत्वमा जो आए पनि नेतृत्वले कस्ता विषय उठाउँछ भन्ने कुरा नै प्रमुख हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले अहिलेका उमेदवारमध्ये नेतृत्वमा जुनसुकै व्यक्ति आएपनि नेतृत्व हाँक्न सक्ने क्षमता रहेको भन्दै मुल रुपले नेपाल बाहिर रहेका गैर आवासीय नेपालीका समस्या समाधान नै पहिलो कुरा रहेको भन्दै सबैलाई शुभकामना दिए । 

पूर्व आइसीसी सदस्य पुष्प तिमल्सिनाले प्रत्यासीहरूलाई सहमतीको लागी आग्रह गरे। त्यसका लागी सहजिकरण र समन्वय गर्न आँफु तयार रहेको पनि उनले बताएका छन् ।

काठमाडौंको यलो पेगोडा होटलमा आयोजित सो डिवेट कार्यक्रममा उमेदवार, समर्थक, बौद्धिक व्यक्तित्वसहित गैर आवासीय नेपाली संघ एनआरएनएका सुभेच्छुकहरुको सहभागीता रहेको थियो ।