एनआरएनए भित्र राजनीतिक पार्टीहरुको प्रभाव पर्नु स्वाभाविक नै हो : महेश श्रेष्ठ, अध्यक्षका प्रत्यासी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए प्रति नेपालका राजनीतिक पार्टीहरुको प्रभाव पर्नु स्वाभाविक भएको बताएका छन् ।

टिभी सन्डे र प्रवास खबर मिडियाले राजधानी काठमाडौंमा पहिलो पटक आयोजना गरेको ‘एनआरएनए आइसीसी प्रेसिडेन्सियल डिबेट’ कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् । गैरआवासीय नेपाली संघभित्र नेपालका राजनीतिक पार्टीहरुको प्रत्यक्ष प्रभाव र दबाब हुने गरेको भन्ने आरोप लागिरहेको बेला श्रेष्ठले पार्टीहरुको प्रभावलाई स्वाभाविक रुपमा लिएका छन् ।

श्रेष्ठले भने, ‘चुनावमा चुन्ने आधार विभिन्न हुन्छन्, चुनावमा उठ्ने भईसकेपछि चयन गर्ने आधार हुन्छ, कसैले वैचारिक आधार पनि लिएको हुन्छ । त्यसलाई दलीय राजनीति भयो भनेर भन्न चाहिँ मिल्दैन ।’

‘सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार दिनु भनेको छ । निर्वाचन आयोगले समेत आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गर्न लागेको छ, श्रेष्ठले भने, ‘यस्तो परिस्थितिमा नेपालका राजनीतिक पार्टीहरुको संघप्रति इन्टे«ष्ट जाग्नु स्वाभाविक नै हो ।’
उनले थप प्रष्ट पार्दै भने, ‘सोसल मिडियाको अहिले यति धेरै प्रभाव छ, सोसल मिडियाले नेपाली राजनीतिक चुनावमा समेत प्रत्यक्ष प्रभाव पार्दछ । यस्तो बेला हरेक राजनीतिक पार्टीहरुको प्रभाव पर्नु स्वाभाविक नै हो ।’

एनआरएनएले उठाएको नेपालको समृद्धिको एजेण्डा र राजनीतिक पार्टीहरुको एजेण्डा समान रहेको उनको भनाई छ । ‘संघ र राजनीतिक पार्टीहरुको उद्देश्य समान भएकाले हामीबीच सहकार्य आवश्यक छ’, श्रेष्ठले भने, ‘राजनीतिक पार्टीहरुसँग शत्रुगत व्यहार गर्नुपर्ने कुनै कारण छैन । मित्रवत व्यवहार गर्नुपर्छ ।’