एनआरएनए अध्यक्षमा आरके शर्माद्वारा उम्मेदवारी दर्ता,यी हुन् प्रस्तावक र समर्थक…

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा आरके(राजेन्द्रकुमार)शर्माले उम्मेदवारी दर्ता गराएका छन्। वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले आज(शुक्रबार)बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा(सापकोटा)रहेका छन्।

शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए। तर,उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो। शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन्।

शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन्।

एक महिनामा एक बाचा पुरा गर्नेगरी २४ महिने कार्यकालमा गर्ने २४ कामको विवरणलाई उनले २४ बुँदे बाचापत्रमा समेटेका छन्। उम्मेदवारी दर्तापछि शर्माले आफूले चुनाव जित्ने दाबी गरे।

मध्यपूर्वसहित विश्वभरका मतदाताले आफूमाथि विश्वास गरेको भन्दै चुनाव जित्ने दाबी गरेका हुन्। एनआरएनएको अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो। अध्यक्षका आकांक्षीहरु बद्री केसी र महेश श्रेष्ठलगायतले भने शनिबार दर्ता गराउने बुझिएको छ।