काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता सुरु भएको छ। विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट विहिबारदेखी मनोनयन दर्ता सुरु भएको हो। जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले जानकारी दिए।
उनकाअनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ । शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ।
त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छु्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ । एनआरएनएको अध्यक्षमा हालसम्म ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यकारी अध्यक्ष बद्री केसीसहित, आरके शर्मा, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीले उम्मेदारी घोषणा गरेका छन् । जसमा मुख्य प्रतिस्पर्धा शर्मा, केसी र श्रेष्ठबीच हुने देखिएको छ । यी उम्मेदवारहरु आ–आफ्नो टीमसहित मैदानमा उत्रिने तयारीमा छन् ।
शर्माको सचिवालयका अनुसार टीमसहित उनले शुक्रबार मनोनयन दर्ता गराउने तयारी छ । यस्तै केसी र श्रेष्ठले पनि सम्भव भएसम्म शुक्रबारै उम्मेदवारी दर्ताको तयारी गरेका छन् । उनीहरु पनि टीमलाई अन्तिम रुप दिन जुटिसकेका छन् । निर्वाचन समितिले यसअघि नै उम्मेदवार बन्न चाहिने योग्यताबारे विवरण सार्वजनिक गरिसकेको छ। जसअनुसार अन्तिम मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्नेछ । एनआरएनएमा अन्तिम मतदाता अर्थात डेलिगेटको संख्या ४२२७ जना रहेको छ ।
डेलिगेट सूचीमा नाम भइसकेपछि उम्मेदवार बन्न चाहेको खण्डमा गैरआवासीय नेपाली संघको विधान, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, निर्वाचन समितिले जारी गरेको आचार संहिता एवं निर्वाचन समितिले समय समयमा जारी गर्ने सूचना पूर्ण रुपमा परिपालना गर्न एवं तोकिएको विद्युतीय माध्यमबाट हुने मतदान एवं प्राप्त मत परिणाम स्वीकार गर्न मन्जुर गरी उम्मेदवारले लिखित प्रतिवद्दता पत्र मनोनयन पत्रका साथ दाखिल गनुपर्नेछ ।
यस्तै संघको विधानको दफा ५ को उपदफा ५.१ मा उल्लेख भए बमोजिम गैर आवसीय नेपालीको हैसियत कायम रहेको सम्बन्धमा सम्बन्धित राष्ट्रिय समन्वय परिषद्बाट सो देशमा २ वर्ष भन्दा बढी बसोबास गरेको प्रमाणीत हुने कागजात अनिवार्य पेश गर्नुपर्नेछ । ढुंगानाका अनुसार उम्मेदवारले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण नगरेको स्वघोषणा निवेदन पत्र मनोनदय पत्र साथ पेश गर्नुपर्नेछ । उल्लेखित पद धारण गरेको भए सो पद त्याग गरेको आधिकारिक प्रमाण उम्मेदवार मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ ।
यसैगरी तोकिए बमोजिमको शुल्क एवं मनोनयन दस्तुर बुझाएको निस्सा मनोनयन पत्रका साथ पेश गर्नुपर्नेछ । चुनावका लागि कैयन एनआरएनएहरु काठमाडौँ आइसकेका छन् भने अन्य पनि आउने क्रममा छन्। यो पटक दुई हजारको हाराहारीमा एनआरएनएहरु काठमाडौँमै भेला हुने अपेक्षा गरिएको छ।संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ ।
यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ। यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ। सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए ।
निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए। उनकाअनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६,महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १,महासचिव १, उपमहासचिव २,सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन्।यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन्।
जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ। यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ। संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन्। यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ। विश्व सम्मेलनले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ।