एनआरएनए निर्वाचनः अब्दुल वासिदको घोषणा,‘१ करोडको कोष खडा गर्छु’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा उपाध्यक्ष पदका उमेदवार अब्दुल वासिदले युवाहरूका लागि १ करोडको कोष स्थापना गर्ने योजनाको घोषणा गरेका छन्। वर्तमान युवा संयोजक समेत रहेका बासिदले यस्तो घोषणा गरेसँगै एनआरएनए अभियन्ताहरूबीच चर्चाको विषय बनेको छ। वासिदले युवाहरूका एनआरएनए स्पोर्टस् एकेडेमी निर्माणका लागि यो कोषको घोषणा गरेका हुन्। आफ्नो कार्याकालका लागि आफूले गर्ने मुख्य काममध्ये प्रमुख काम एनआरएनए स्पोर्टस् एकेडेमी निर्माण गर्ने र त्यसका लागि व्यक्तिगत ५ लाखबाट सुरुवात गरेर आफ्नो कार्यकालमा १ करोडको कोष खडा गर्ने उनको प्रतिबद्दता छ।

उनले उक्त कोष खडा गर्नुका कारण देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरूलाई विषेश परिचाल आवश्यक रहेको र यस्तो योजना ल्याउन अत्यावश्यक भएको बताए। उनी लामो समयदेखी कतारमा रहेर बिभिन्न ब्यापार ब्याबसायमा आबद्दता जनाउँदै आएका प्रबासी नेपाली हुन्। युवाको सोच, उद्देश्य र उनिहरूको चाहलाई नजिकबाट चिनेका र बुझेका वासीदले सर्पको खुट्टा सर्पले देख्ने बताउँछन्। उनले युवाको सिप, दक्षता र क्षमतालाई उजागर गर्नु पर्ने उद्देश्यसहित एनआरएनए युवा उपाध्यक्ष पदमा उमेदवारी दिएको उनले बताए ।

यसैबीच नेपालमै पहिलोपटक बेलाको ब्राण्डका सामाग्रीहरु भित्राएर उनले नेपालको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान दिएका छन्। एनआरएनए भित्र समेत वासिदले कुरा मात्र होइन काम पनि गर्छन् भन्ने राम्रो प्रभाव छोड्न सफल भएका छन्। कतारलाई कर्मथलो बनाउँदै आएका अब्दुलले नेपाल, कतार र बेलायतमा व्यवसाय गर्दै आएका छन्। ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्र्याएका अब्दुलले सयौंको संख्यामा नेपालीहरूलाई रोजगारी प्रदान गरेका छन्।

युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरूलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रूपमा उठाउन समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैगरी बासिदले आफू विदेशमा क्रियाशील भएपनि नेपालमा समेत लगानी बढाएर रोजगारीको सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘मैले लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीहरुलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ’, उनले भने ।

उनले एनआरएनएको युवा उपाध्यक्षमा निर्वाचित भएको खण्डमा स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । ‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीहरुलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु’, उनले भने । उनले बिगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको पनि बताए ।

‘युवा पुस्ताका मुद्धाहरु स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीहरुलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकहरुका आवाजलाई शसक्त रुपमा उठाउँन समर्पित हुनेछु’, उनले भने । युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता आफ्नो मूल मुद्दाहरु भएको उनले बताए । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी निर्णय गरेको उनले बताए ।