काठमाडौं। इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् ।इजरायलमा हमास आक्रमणबाट समस्यामा परेका उनिहरु नेपाल वायु सेवा निगमको विमानबाट गएराति फर्किएका हुन्।
विद्यार्थी लिन र इजरायलमा रहेका घाइते नेपाली र अन्यलाई भेट्न पुगेका परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट(नेपाली समय ५ बजेर १७ मिनेट)मा नेपालका लागि उडेको थियो ।
उद्धारका लागि बिहीबार बिहान ३ बजे नेपाल एयरलाइन्सको विमान तेलअबिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकोे थियो। हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत समस्या परेको थियो।
नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्णरूपमा उद्धार गरिएको थियो । सरकारले स्वदेश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज सरकारले पठाएको हो।