नेपालले इजरायलका लागी चार्टर फ्लाइटको रुट नै पाइएन,उद्धारमा अझै विलम्ब,छिटो उद्दार गर्न विद्यार्थीहरुको चित्कार

काठमाडौं। नेपाल सरकारले इजरायलका लागी चार्टर फ्लाइटको रुट नपाइएपछि नेपालीको उद्धारमा अझै ढिलाइ हुने भएको छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर,जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हवाई रुट खुल्नेबित्तिकै उद्धारका लागि जहाज पठाइने बताइन्। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन्।

इजरायलस्थित नेपाली दूतावासले पनि हवाईसेवा नै अवरुद्ध भएकाले नेपालबाट विमान ल्याएर उद्धार गर्ने सम्भावना तत्काल नरहेको बताएको छ।राजदूत कान्ता रिजालले भनिन्,‘यहाँ(इजरायल)को अवस्था संवेदनशील छ। सुरक्षाकै कारणले इजरायलमा विमानबाट उद्धार गर्न कठिनाइ छ।’सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका विमान पठाएर आफ्ना नागरिकको उद्धार गर्ने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ३ सय ८० जनाले स्वदेश फिर्ता हुन्‘अनलाइन रजिस्ट्रेसन’गरेका छन्। उनिहरुले जतिसक्दो छिटो आँफुहरुलाई उद्दार गरिदिन आग्रह गरिरहेका छन्। अन्य देशहरुले आफ्नो देशका नागरिकलाई उद्दार गरिसकेको र अब आँफुहरुमात्रै बाँकी रहेको भन्दै तत्काल नेपाल फिर्ता ल्याइदिन विन्ती गरेका छन्।