एनआरएनए निर्वाचनः उमेदवारहरु शेरचन, गुरुङ र गोर्खाली एसिया भ्रमणमा(यस्तो छ भ्रमणतालिका)

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिएसँगै चुनावी अभियान लिएर विश्व दौडाहामा निस्किएका उमेदवारहरुलाई छन्।आगामी नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरु यतिबेला आफ्नो पक्षमा समर्थन बटुल्न विश्व दौडाहामा निस्केका हुन्।

एनआरएनएको ११ औं महाधिबेशन तथा निर्वाचनको मिति नजिकिदै जाँदा कतिपय उम्मेदवारहरुले आफ्नो भ्रमण सकेर स्वदेश फर्किसकेका छन् भने कोही उमेदवार चुनावी अभियानस्वरुप सुरु गरेको भ्रमणका क्रममा नै छन्।

उमेदवारहरु जापानका रविन शेरचन, कतारका प्रविन गुरुङ र यूएईका मनोज गोर्खाली यतिबेला एसियाका देशहरुको भ्रमणमा निस्केका छन्।आगामी कार्यकालका लागि शेरचनले आइसीसी उपाध्यक्ष, गुरुङले आइसीसी उपमहासचिव र गोर्खालीले आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

जापानबाट कतार पुगेका शेरचनसँगै गुरुङ र गोर्खाली अहिले मलेसिया पुगेका छन्। नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक मलेसियामा रहेका नेपालीहरुको अवस्थाको अध्ययनका साथै एनआरएनएका डेलिगेट्ससँगको छलफल गरेका छन्।मलेसियाबाट हङकङ हुँदै थाइल्याण्डसम्म पुगेर स्वदेश फर्कने उनीहरुको कार्यक्रम रहेको छ।

त्यहाँ रहँदा एनआरएनएका पदाधिकारी तथा अन्य नेपालीहरुसँग भेटघाट गरी त्यहाँबाट समर्थन बटुल्ने र आफ्ना प्रतिवद्धता सुनाउने उनीहरुको भनाई छ। जापानमा सफल व्यवसायीको पहिचान बनाएका शेरचन एनआरएनएमा गफ होइन काम गरेर देखाउन आफु उपाध्यक्षमा आएको बताउँछन्। एनआरएनए अभियानमा लोकप्रिय बनिरहेका शेरचन सबैका रोजाईमा परिरहेका छन्।

कतारमा कर्मथलो बनाएका गुरुङ एनआरएनएको बर्तमान सचिव हुन्। व्यवसायिक रुपमा सफलता चुमेका गुरुङ आगामी कार्यकालका लागि समर्थन बटुल्न पहिलादेखि नै सक्रिय भएर लागि रहेका छन्।यूएईमा कर्मथलो बनाएका गोर्खाली वर्तमान कार्यसमितिको मध्यपुर्व संयोजक रहेका छन्। एनआरएनए अभियानमा सक्रिय गोर्खाली सबैमा चिरपरिचित छन्।