काठमाडौँ। गैरआवासीय नेपाली संघव (एनआरएनए)को निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल पनि ह्वात्तै बढेको छ। यससँगै उमेदवारहरु काठमाडौं आउने क्रम पनि बढ्न थालेको छ। निर्वाचन मिती आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका एक उमेदवार राजेन्द्र कुमार शर्मा(आरके)आज काठमाडौँ आइपुगेका छन्। करिब ४० देशको चुनावी अभियान सकेर शर्मा आज काठमाडौँ आइपुग्दा विमानस्थलमा एनआरएनए अभियन्ता र समर्थकहरुले भव्य स्वागत गरेका छन्। स्वागतका लागि शर्माको टीममा रहेका उम्मेदवारदेखि मतदाता र अभियन्ताहरु एयरपोर्ट पुगेका थिए।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू नेतृत्वमा पुगेमा एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्तासहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए । वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको उल्लेख गर्दै शर्माले भने एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताए ।
अबको एक दशक जति दुख गरेर भएपनि देशको आर्थिक क्रान्तिमा होमिनुको विकल्प नभएको उनको भनाइ छ । ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिलाइ भइसकेको छ। एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ’, उनले भने । उनले एनआरएनएलाई एकताबद्ध बनाएर लैजाने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै भने,
‘एनआरएनए सबैको साझा चौतारी हुनुपवर्छ । धनीको मात्रै संस्था भयो भन्ने आरोप पनि छ । सबै यो संस्थामा समेट्ने गरी एनआरएनएलाई एकताबद्ध बनाउँछु ।’
वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले एनआरएनए अभियानकै क्रममा आफूले केही महिनामा विश्वका ४० वटा देश पुगेको भन्दै सो क्रममा विदेसिएका नेपालीहरुको पिरमर्कालाई राम्ररी बुझ्ने मौका पाएको बताए ।शर्मासङ्गै एयरपोर्टमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं आगामी अधिवेसनमा उपाधयक्षका उम्मेदवार रोविन्द श्रेष्ठ,एनआरएनए जापानका अध्यक्ष नबिन न्युरेसहितका पदाधिकारीहरुलाई स्वागत गरिएको थियो । शर्मालाई स्वागत गर्न एनआरएनए उपाध्यक्ष डिबी क्षेत्री,कोशाध्यक्ष लोक दाहाल,युवा संयोजक अब्दुल बासिद,अभियन्ता शनि ओली,बिभिन्न देशका एनआरएन अभियन्ताहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ। विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि हालसम्म शर्मासहित बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीसमेतले उम्मेदवारी घोषणा गरेका छन । हालसम्म उम्मेदवारी घोषणा गरेकामध्ये शर्मा बलिया उम्मेदवार मानिन्छन ।केही साताअघि कतारमा आयोजित कार्यक्रमबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका शर्माले सो क्रममा ‘२४ महिना २४ कार्यक्रम’ नाम दिइएको बाचापत्रमा सार्वजनिक गरेका थिए ।बाचापत्रमा उनले एनआरएनहरूबीच एकतालाई पहिलो प्राथमिकता दिएका छन् । उनले भनेका छन्,
‘मेरो नेतृत्वमा आईसीसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु । मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ ।
उनले एनआरएनएलाई एक बनाउँदै अघि बढाउने प्रमुख एजेण्डाका रुपमा अघि सारेपछि एनआरएनए अभियन्ताहरुले महत्वका साथ हेरेका छन्। उनले गैरआवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि काम गर्ने पनि बाचा गरेका छन् ।
बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन् ।यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् ।