काठमाडौं। पूर्वी नेपालको इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको छन्। इजरायलमा युद्धमा परी १० विद्यार्थीको मृत्यु भएको खबर आइरहेका बेला सिक्किमबाट अर्को दुःखद खबर आएको हो।
इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन्। त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन्।
‘टिष्टामा आएको बाढीपछि उहाँहरु आफन्तसँग सम्पर्कविहीन हुनु भएको छ। सरकारबाट तदारुकताका साथ खोजी आवश्यक भयो,’ फियाकले भने।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए ।