काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा प्यालेस्टाइनले गरेको आक्रमणमा केही नेपालीको निधन भइसकेको हुन सक्ने बताएका छन्। आज जारी संसद बैठकमा घटनाबारे जानकारी गराउँदै उनीहरुको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको बताएका छन्।
इजरायलमा केयर गिभर कामदारको रुपमा ४ हजार ५ सय नेपाली रहेको र २६५ जना विद्यार्थीहरु रहेको जानकारी गराए। कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभूवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका क्रममा इजरायलमा रहेको उनले बताए।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका मध्ये १७ नेपाली इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेको र यो गाजा क्षेत्र नजिक रहेको जानकारी गराए। त्यहाँ रहेका १७ विद्यार्थीमध्ये २ जना सकुशल, ३ जना घाइतको स्थानीय अस्पतालमा उपचार भएको र बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने बताए।
उनले भने,‘उनीहरुको स्थिति एकिन गर्न संयन्त्रण परिचालन गरिएको छ। इजरायलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीर रुपमा लिइएको छ।’ नेपाली समयअनुसार हिजो बिहान ६ बजेदेखि हवाई, जल, स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण भएको र दशकौँपछिको यो ठूलो आक्रमणको रुपमा लिइएको उनले बताएका छन् ।