काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि हाल क्यानडा निवासी लोक गायिका देवकी खत्री अर्थात् देविका के.सी.ले महिला संयोजक पदमा उम्मेद्वारी दिने तयारी गरेकी छिन् ।
‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’ भन्ने नारा सहित गायिका केसीले एनआरएनए आइसिसीको महिला संयोजक पदमा उम्मेद्वारी दिन लागेकी हुन् । आउँदो अक्टोबर १७ तारिखका दिन संघको ११ औं महाधिवेशन नेपालमा सुरु हुँदैछ । उक्त महाधिवेशनका बेला हुने निर्वाचनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै लोक गायिका केसीले दुई वर्षे कार्यकालका लागि एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज उठाउँदै महिला संयोजक पदमा उम्मेद्वारी दिन लागेको जानकारी दिईन् ।
एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा रहेर लोक गीत संगीतको माध्यमबाट नेपाली कला संस्कृतिको प्रबद्र्धन गर्दै आईरहेकी छिन् । एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गर्दै आउनुभएकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा गीत गाउन पुग्ने गरेकी छिन् । विदेशमा बस्ने धेरै नेपालीहरुले उनलाई लोक दोहोरी गायिका देविका के.सी.को नामले चिन्ने गर्दछन् ।
गायन पेशामा सक्रिय केसीले सामाजिक सेवाका कार्यहरु पनि गर्दै आएकी छिन् । उनले नेपालमा दुःख परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकी छिन् ।
लामो समयदेखि विदेशमा रहेका नेपाली महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजक पदमा आफू उपयुक्त उम्मेद्वार भएको उनले बताईन् । महिला संयोजक पदकी उम्मेदवार केसी कार्यक्रम प्रस्तोता, संचालक र लोकप्रिय लोक तथा दोहोरी गायिकाको रुपमा नेपाली समुदायमा परिचित छिन् ।