काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी बिस्तार गर्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा जापानको टोकियोमा‘नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिका’ विषयक अन्तक्रियामा बोल्दै ढकालले नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावना भएकोले लगानी विस्तारका लागि गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका हुन्।
अध्यक्ष ढकालले नेपालको कुनै पनि क्षेत्रमा व्यवसायका लागि प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे।नेपालमा लगानीका लागि आश्वस्त पार्दै उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन भन्नु तथ्यहीन र वास्तविकतामा आधारित छैन।नेपालमा लगानी लागि उपयुक्त वातावरण छ। ढुक्कले जुनासुकै क्षेत्रमा लगानी गर्नुहोस्।’
नेपालमा जलविद्युत, पर्यटन, कृषि, पशुपालन र सेवामुलक क्षेत्रमा व्यापक सम्भावना भएको रहेको उल्लेख गर्दै उनले मुख्यत पर्यटनको क्षेत्रमा धेरै नै सम्भावना रहेको बताए। आफूले नेपालका ७ वटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनासहित काम गरिरहेको बताउँदै एकीकृत पर्यटकीय संरचनामा यसले सघाउ पु¥याउने उल्लेख गरे।
बुटवल–पाल्पा, नवलपुर, चन्द्रागिरिमा केबलकार सञ्चालनमा आइसकेको जानकारी गराउँदै उनले अब सिक्लेस,कर्णालीको चिसापानी र पाथिभरामा सञ्चालनको लागि तयारी भइरहेको बताए। विकसित देशमा प्रयोगमा आएको एग्रो प्रविधिलाई नेपालमा उपयोग गर्दै छोटो दूरीको उडान भएका देशमा निर्यात गरिनुपर्ने धारणा उनले राखे।
गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा आइईएमई ग्रुपले जलविद्युत्, पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै ढकालले नयाँ व्यवसायी क्षेत्रमा लगानी र प्रविधि भित्र्याउन सकियो भने आफ्नो देशलाई योगदान गर्नुका साथै उल्लेख रुपमा मुनाफा पनि लिन सकिने उल्लेख गरे।