काठमाडौं। नेपाल सरकारले गैर आवासिय नेपाली (एनआरएन)हरुलाई प्रदान गरिने नागरिकताको नमुना राजपत्रमा प्रकाशित गरेको छ । नेपाल सरकार र गैर आवासिय नेपाली संघ एनआरएनबिच सहमति भइ नागरिकता ऐनमा समावेश गरिएअनुशारको नियमावलीअनुसारको नमुना प्रकाशित गरिएको हो ।
यस्तै राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले कुन कुन प्रकृया अपनाउने भन्नेबारे स्पष्ट पारिएको छ ।
नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले तोकिएका कागजात संलग्न गरी तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछन्।
तोकिएका कागजातहरु भन्नाले हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, तोकिए अनुशारको प्रतिवद्धतापत्र र नागरिकता ऐनमा व्यवस्था भए अनुरुप निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्यागेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसेको प्रमाण पेश गर्नुपर्नेछ ।
प्रतिवद्धता पत्र भन्नाले अनुसुचीमा उल्लेख भए अनुरुपको विदेशको नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित देशमा बसोबास गर्दै आएको तथा नेपालको संविधान तथा प्रचलित कानून प्रति पूर्ण रुपमा बफादार रहने एवं नेपालको संविधान र प्रचलित कानून बमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकार बाहेक अन्य कुनै पनि अधिकार उपभोग नगर्ने प्रतिबद्धता सहितको पत्र हो ।