काठमाडौँ। गैर आवासिय नेपाली संघ एनआरएनएको लगानिमा निर्माण गर्न लागिएको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ। रुकुम पश्चिममा निर्माण हुने २०.७३ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवर्द्धक सांग्रिला हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबीच मंगलवार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुनेगरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो।
आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ। आयोजनाका तर्फबाट सांग्रिला हाईड्रोपावर प्रालीका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदिप कुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन।
उक्त हाईड्रोपावरमा ठुलो लगानी एनआरएनएहरुको रहनेछ भने नेपालमा रहेर बिभिन्न क्षेत्रमा अब्बलता कमाएका ब्याबसायीहरुको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए। उक्त हाईड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने,एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा ,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा ब्यावसायी रविन गुरुङ सहित रहनेछन।
रुकुमपश्चिम आठविसकोट नगरपालिका वार्ड नम्वर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ। ४२२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२.५ रहेको छ।आयोजनामा २ हजार ५०० मिटर सुरुङमार्ग र ३५०० मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरि बन्नेछ।आयोजनाले विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेशनसम्म १३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४०० केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ। आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए। आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ। आयोजनाबाट वार्षिक रुपमा १२७.२९ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ।