काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार(आरके)शर्माले भिजन बिना संघको नेतृत्व सम्भव नरहेको बताएका छन्। एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा सहभागी हुँदै शर्माले यस्तो बताएका हुन्। वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले त्यसैका लागी आँफुले भिजनसहित आगामी कार्यकालका लागी नेतृत्व गर्न तयार भएको बताएका छन्। उनले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।
शर्माले सिमित नेपालीलाई मात्रै नभै लाखौं नेपाली धनि बनाउने भिजन लिएर अगाडी बढेको बताए। उनले भने,“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन,लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ।”
शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरे। “२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुलेपछि दोस्रो कतारमा खुलेको हो,”शर्माले भने,“मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्,सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”
शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए। उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए।
अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए।“खाडी,मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन, अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,”शर्माले भने,“हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”
हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए। शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,”शर्माले थपे,“यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु।”
अहिलेको कार्यसमितिका अध्यक्षत्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए।एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुने छ। अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका छन।
शर्माले यस अभियानका क्रममा एसिया,मध्यपुर्व,युरोप, अस्ट्रेलिया,अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन।




