काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद झनै बढ्दै गएको छ। अघिल्लो महाधिवेशनका दौरानमा उत्पन्न विवाद समाधान हुन नसकेपछी फुटमा परिणत भएको एनआरएनए आगामी महाधिवेशनमा एक हुने सहमती भएपनि पुन विवाद बढ्दै गएको हो। जसकारण आगामी अक्टोबरमा हुने तय भएको महाधिवेशन एकताको नहुने सम्भावना बढेर गएको छ।
गत असार पहिलो साता संस्थापन पक्ष र छुट्टै एनआरएनए चलाइरहेका विनोद कुँवर नेतृत्वको एनआरएनएबीच एकता गर्ने सहमति भए पनि उक्त सहमति कार्यान्वयन हुन नसकेको हो। सहमत अलपत्र बनेसँगै दुई एनआरएनए छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारीमा पुगेका छन्।
हाल बद्री केसी कार्यकारी अध्यक्ष भएको एनआरएनए संस्थापनले अक्टोबर १७ देखि २० सम्म ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। तर, प्रधानमन्त्रीको रोहबरमा भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न संस्थापनबाट कुनै पहल नभएपछि अब पर्खेर बस्ने अवस्था नआएको एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले बताए।
उनका अनुसार छिट्टै बैठक बसेर नयाँ कार्य योजना सार्वजनिक गर्ने तयारी छ। तीन बुँदे सहमतिपछि कुँवर नेतृत्वको एनआरएनएको राष्ट्रिय समन्वय समितिको अधिवेशनलगायतका समग्र गतिविधि प्रभावित भएका छन्। यही शनिवार विशेष महाधिवेशन बोलाइएकाले त्यसबाट समग्र विषयमा छलफल गरेर निर्णय लिइने उनको भनाइ छ ।
कुँवर नेतृत्वको एनआरएनएले आगामी फेब्रुअरीतिर महाधिवेशन गर्नेगरी तयारी गरिरहेको छ। पूर्वअध्यक्ष शेष घले संरक्षक रहेको कुँवर समूहले सरकारकै रोहबरमा सहमति भए पनि सोको कार्यान्वयन हुन नसकेकाले परराष्ट्रदेखि प्रधानमन्त्रीसम्मलाई जानकारी गराउने पनि तयारी गरेको छ।
प्रधानमन्त्रीको रोहबरमा भएको सहमति कार्यान्वयन नभएकाले जोडिने आशा गरिएको एनआरएनए विभाजित नै भइरहने सम्भावना बढ्दै गएको लम्साल बताउछन्। कुँवर पक्षले अब मिलेर जाने अवस्था नदेखिएको ठहर गर्दै अभियानलाई फरक ढङ्गले अघि बढाउनुपर्ने बताउएका छन्।