काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औ महाधिवेशनको मिति नजिकिदै जादा चुनावी गतिविधी पनि बढ्दै जान थालेका छन् । जसअनुसार आगामी कार्यकालका लागी विभिन्न पदमा उमेदवारी घोषणा गरेका उमेदवारहरु आफ्ना गतिविधीहरु बढाउदै लगेका छन् । यसै क्रममा एनआरएनएका उपाध्यक्षद्वय राजेन्द्रकुमार (आरके) शर्मा र रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) दक्षिण कोरिया पुगेका छन् ।
उपाध्यक्षद्वयलाई एनआरएनए दक्षिण कोरियाले स्वागत गर्दै एनआरएनए अभियान र भावी नेतृत्वका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । एनआरएनएको अध्यक्षको दावेदारी गर्दै विश्व दौडाहमा निस्केका शर्मा दक्षिण कोरियामा रहेका नेपालीसँग भेटघाट तथा छलफल गरेका छन् । उनीसँगै अर्का उपाध्यक्ष श्रेष्ठ जापानबाट कोरिया पुगेका हुन्, उनले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
छलफलका क्रममा एनआरएनएको इतिहाँसमा सबै रिजनबाट नेतृत्व लिइसकेको अवस्थामा आगामी कार्यकालका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्नेमा सबै एकमत भएका छन् । एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङसहित कार्यसमिति तथा अन्य संघसंस्थाका अगुवाहरुको उपस्थितिमा उपाध्यक्षद्वयसँग छलफल कार्यक्रममा एनआरएनए एकताको अवस्था, भावी नेतृत्व तथा कोरियामा रहेका नेपालीहरुका मुद्धाहरु उठेका थिए । सोही क्रममा मध्यपुर्व र दक्षिण कोरियामा रहेका नेपालीहरुका मुद्धा एकै भएकाले एनआरएनएमार्फत संवोधन गर्न आफु अगाडि बढेको शर्माको भनाई थियो ।
अध्यक्षका प्रत्यासी शर्माले कोरियामा रहेको नेपाली श्रमिक, विद्यार्थी तथा नेपाली दाजुभाई दिदीबहिनीका भोगाई,सिकाई, समस्या तथा संभावनाका बारेमा धेरै बुझ्ने मौका मिलेको र भोलिका दिनमा समस्या न्यूनीकरण तथा अन्य संभावना उजागरका लागि आफु अहारात्र लाग्ने प्रतिबद्धता जनाएका छन् ।
शर्माले भनेका छन्–‘सम्बृद्ध नेपाल बनाउन दक्षिण कोरियामा रहेका नेपालीहरुले यहाँ सिकेको सीप र प्रविधि र पुँजी भित्राउन आतुर हुनुहुन्छ यसमा हामीहरू सहकार्य गरेर अगाडि बढ्ने छौँ ।’कोरियामा रहेका नेपालीहरुसँगको भेटघाटपछि उपाध्यक्ष शर्मा हङकङ प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बरको अन्तिम साता काठमाडौंमा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ ।