काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र युएई खेल्दै छन्। यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।नेपाल र युएईको समान ८ अङ्क छ तर, युएई नेटरन रेटको आधारमा शीर्ष स्थानमा छ।
आजको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।आजको खेल जितेमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो। प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।