नेपालमा रहेको सम्पत्ति कसैले नबेच्नुस : अध्यक्ष कुल आचार्य

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए) अध्यक्ष कुल आचार्यले संसारभरि रहेका गैरआवासिय नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन्। बेलायतको एक कार्यक्रम सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भै रहेकोले नेपालमा रहेको आफ्नो सम्पत्तिको बारेमा ढुक्क हुन आग्रह गरेका हुन्।

उनले भने,“यही अक्टोबर महिना भित्रै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउंछ ।अब डराउनु पर्ने अवस्था छैन। संविधानले नै हाम्रो सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ। त्यसैले हामी जन्मिएको भूमिको माटो बेचेर विदेशमा पैसा नल्याइ दिनुहोला।”

Zen Travels - Cheap tickets to Nepal

उनले सहमतिको आधारमा चुनिएको गैर आवासीय नेपाली संघको नयाँ टिमले काम थाले यता गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, नेपालमा गर्ने लगानीको क्षेत्रमा प्रगति भएको बताए। गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी जति सक्दो छिटो गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न शुरु गर्न पनि आफुले नेपाल सरकारसंग व्यक्तिगत र संस्थागत रुपमा पहल गर्दै आएको उनले बताए।

त्यस्तै केही समय यता सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने कुराहरु देखिएक भन्दै सजग हुन पनि उनले आग्रह गरे। “हामीले बनाएको सद्भाव, हाम्रो कर्मको मूल्यांकन गर्ने जिम्मा तपाईंहरुको हो, संसारभरिका नेपालीहरुको हो,” उनले भने।

नेपालको संसदको दुवै सदनबाट दुइ, दुइ पटक पारित भएको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पछि उक्त विधेयक ऐन बनेको छ। सोही कानूनको अधीनमा रही नियमावली तयार भै सकेको र अब छिट्टै लागू हुने गृह मन्त्रालयले जनाएको छ।