चुनावी प्रचारमा आर के शर्माको दौडधुप तिव्र, सुझाव र मत माग्दै पुगे अस्ट्रेलिया

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी कार्यकाल का लागी अध्यक्ष पदका उमेदवार राजेन्द्रकुमार शर्मा(आरके शर्मा) चुनावी प्रसारका लागी अस्ट्रेलिया पुगेका छन्। आगामी अक्टोबरमा हुन लागेको एनआरएनएको ११ औ महाधिवेशनका लागी अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका शर्मा चुनावी प्रचार प्रसारस्वरुप अगस्ट २ मा हुन लागेको एनआरएनए अस्ट्रेलियाको साधारणसभामा सहभागी हुन अस्ट्रेलिया पुगेका हुन।

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीसँगै अन्य विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने छन्। अस्ट्रेलियामा रहँदा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माको तयारी छ।

एनआरएनएका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछी प्रचारप्रसारस्वरुप विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसियालगाएतको देशको भ्रमण गरिसकेका छन्।

भ्रमणका क्रममा शर्माले भने,“युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको छ,यो क्रममा अस्ट्रेलियामा बस्ने अभियान्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने तयारीमा छु।” शर्माले विश्वभरका अभियन्ताले अगाडि बढ्न सल्लाह र सुझाव दिएका बताएका छन्।

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएकोले आईसिसिको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुनेछन्। यसकारण पनि शर्माको अष्ट्रेलिया भ्रमण महत्वपुर्ण हुनेछ ।

जापान भ्रमणपछि शर्मा नेपाल आएर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’, मन्त्री तथा उच्च सरकारी अधिकारीलाई जानकारी दिएका थिए।भेटमा विदेशमा पासपोर्ट नवीकरणलगाएतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए।