काठमाडौं। हिजो भएको पाकिस्तानसँगको खेलमा पराजित नेपाली क्रिकेट टिमलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ढाडस दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज एक स्टाटस लेख्दै बालेनले सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन।नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन्।
पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्,‘उहाँ भन्नु हुन्थ्यो–२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो। बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो,हामीलाई थाहा नै हुन्न थियो। हामी उनीहरुसँग खेल्दै गयौँ,सिक्दै गयौँ ।’
अहिले एसोसिएट देशहरुमा नेपालको अवस्था फरक रहेको उल्लेख गर्दै बालेनले अगाडि लेखेका छन्,‘हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भनेजस्तै रहेको देखियो। हामीलाई पाकिस्तानी खेलाडीका तीब्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो। बाबर आजमजस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहेजस्तो देखियो।’
उनले थपेका छन्,‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन्, हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’