ओली–नेपाल वार्ता निष्कर्षविहीन
काठमाडौं(जस)–नेकपा एमालेमा पछिल्लो समय देखिएको विवादका शीर्ष नेताबीच छलफल शुरु भएपनि मिलबिन्दु भने अझै धेरै टाढा रहेको देखिएको छ । पार्टी फुटनजिक पुगेको समयमा बुधबारदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुरु भएको छलफलको क्रम बिहीबार जारी रहेपािन दोस्रो छलफलसमेत बिना निष्कर्ष सकिएको छ । नागपोखरीस्थित होटेल मेरियटमा भएको बिहीबारको वार्ता निष्कर्षविहीन भएको स्रोतले जानकारी दिएको छ । वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम राखेका छन् । हिजो पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।
‘प्रगति केही भएको छैन’
एमाले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताएका छन् । वार्ता सकिएपछि संक्षिप्त कुराकानी गर्दै नेपालले पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन् । ‘बैठक यथास्थितिमै भयो । प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन ।’
उनले अनुसार प्रधानमन्त्री ओली र आफूबीच फेरि छलफल गर्ने कुराकानी भएको जानकारी दिए । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।
एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ ।
सम्झाउने–बुझाउने प्रयास जारी छ:
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरूपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको बिहीबार शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको स्पष्ट गरे ।
पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्वाकाङ्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरूपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा अवसरमा अध्यक्ष ओलीले भने, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।”
अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गरे । उनले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरूले पूरा गर्नुपर्ने बताए । विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुृन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा बिहीबारदेखि थापाथलीमा शुभारम्भ भएको छ ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी भएका थिए ।
नेपालसहित चार सांसदको रिट दर्ता, आइतबार पेसी
यसैबीच सर्वोच्च अदालतमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार सांसदको रिट दर्ता भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन बिहीबार (बिहीबार) दर्ता भएको हो । रिटको पेसी आइतबारका तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निष्कासन गर्न खोजेको उल्लेख छ । २८ फागुन, ७ चैत र ६ वैशाखमा गरेको भनिएको निर्णय, त्यसआधारमा गरिएको र गर्न लागिएको कारबाही, विधान संशोधन लगायतका कारबाही गैरकानूनी र दूराशयपूर्ण भएको दाबी गर्दै त्यसलाई बदर गर्न र सर्वोच्चको फैसला बमोजिम एमाले पार्टी, त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमा परमादेश माग गरिएको छ ।
गैरकानूनी र अनधिकृत निर्णयको आधारमा २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको भन्दै नेपाल समूहका नेताहरुले रिटमा भनेका छन्, ‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’
एमाले मुख्यालय थापाथलीबाट सञ्चालन
नेकपा (एमाले)को पार्टी मुख्यालय बिहीबारदेखि औपचारिक रूपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको बिहीबार उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालन भएको हो । यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केही बेर बसेका थिए । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् । प्रधानमन्त्री ओली गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।