अमेरिका। अमेरिकाको न्युयोर्कमा टिभिसण्डेका प्रधानसम्पादक किरण मरहट्टासहित नेपाली मिडियाका प्रधानसम्पादकहरु सम्मानित भएका छन्। गत शनिबार आयोजित एक कार्यक्रममा नेपाली सामुदायिक मिडियाका ९ जना प्रधान सम्पादकहरु सम्मानित भएका हुन्। तारा किशन फाउण्डेशनले उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा एक कार्यक्रमकाबिच उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा टिभी सन्डेका किरण मरहट्टा, खसोखासका प्रधानसम्पादक किशोर पन्थी, नेपालिजमका प्रदिप परियार थापा, विश्वसन्देशका योगेश आदि, नेपालयका विष्णुप्रसाद पौडेल, टुटुल्कोका ज्योतिकुमार श्रेष्ठ, रुपान्तरणका अकुर लुईटेल, मकै हाउसका खडग पुलामी र विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा रहेका छन्।
अमेरिकामा औपचारिक रुपमै दर्ता भई संचालित संचारमाध्यमका संचालक र प्रधान सम्पादकहरुलाई भाषा साहित्यमा दिएको योगदानका कारण सम्मान गरिएको आयोजकले बताएको छ। सोही अबसरमा देउडा गायक शंकरसिंह विष्ट र गायिका चाँदनी विष्टलाई पनि सम्मान गरिएको थियो।
नेपाली समुदायमा सकृय संचारमाध्यम र संचारकर्मीहरुले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको र उक्त योगदानको कदरस्वरुप सम्मान कार्यक्रम गरिएको तारा किशन फाउण्डेशनका प्रमुख सल्लाहकार किशन धामीले बताएकाा छन्।
सम्मानित हुने संचारकर्मीहरुका तर्फबाट बोल्दै विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा, खसोखासका किशोर पन्थी र टुटुल्कोका ज्योतिकुमार श्रेष्ठले यो सम्मानले थप जिम्मेबारीबोध गराएको बताए।
नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य र तारा किशन फाउण्डेशनकी अध्यक्ष तारा धामीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साहित्यकार शकुन ज्ञवालीले गरेकी थिइन्।