काठमाडौं। ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका नै बयान लिएको जानकारी दिएको छ। त्यसअघि आइतबार राति पूर्वप्रधानमन्त्री नेपाल र सोमबार बिहान डा. भट्टराईसँग सीआईबीले बयान कागज गराएको थियो।
यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी भने फरार रहेका छन्। बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरु विजय कुमार गच्छदार,चन्द्रदेव जोशी,डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सीआईबीका एसएसपी दिनेश आचार्यले अनुसन्धान प्रक्रिया लगभग सकिएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा रहेको बताए।