काठमाडौं। भैरहवामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ। गैरआवासिय नेपालीहरु एनआरएनहरुको समुह हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले केहि दिन पहिले खरिद गरेको यो रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन ल्याउन थालेको हो।
एनआरएनहरुले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो। रिसोर्टमा सुवेदीसहित दीपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनीलगायतको लगानी रहेको छ भने केही लगानीकर्ता जोडिने तयारीमा छन्।
यसअघि अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्न करिब पाँच अर्ब लगानी गरेको थियो। रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारीमा थिए।प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द अवस्थामा पुगेको थियो।
यतिबेला अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडले नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा सम्पुर्ण हिस्सा किनेको हो। रिसोर्ट सञ्चालनमा प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोवार रकम समेत जोडदा करिव चार अर्ब खर्च गर्नुपर्ने देखिएको छ।
रिसोर्ट सञ्चालनसँगै एनआरएनहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरणसमेत निर्माण हुने विश्वास लिइएको छ ।