एनआरएनए ११ महाधिवेशनको प्रधानमन्त्री प्रचण्डलाई निम्तो

काठमाडौँ।गैरआवासीय नेपाली संघ(एनआरएनए)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्व सम्मेलनको निमन्त्रणा दिएको छ। संघका प्रतिनिधी कार्यकारी अध्यक्ष बद्री केसी र कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यकारी अध्यक्ष केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे। भेटमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकोले त्यसलाई सहज र एनआरएनमैत्री बनाउन प्रधानमन्त्री तहबाटै पहलकदमी लिइदिन अनुरोध गरे।

जवाफमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको भन्दै केही अप्ठ्यारो देखिए सुल्झाउँदै अघि बढ्ने बताए। यस्तै संघका उपाध्यक्ष आरके शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरण लगायत नेपालीहरुले व्यहोर्नुपरेको अन्य समस्या सम्बोधनका लागि कुटनीतिक पहल गर्नका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री दाहालले त्यसका लागि पछिल्लो अवस्था मूल्यांकन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। फरक प्रसंगमा प्रधानमन्त्री दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा गैरआवासीय नेपाली संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उक्त योजनालाई अझ बृहत रुपमा अघि बढाउन आग्रह गरे ।