विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यविधिको मस्यौदा सार्वजनिक

काठमाडौं।निर्वाचन आयोगले‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि,२०८०’को मस्यौदा सार्वजनिक गरेको छ।

आयोगले आफ्नो वेबसाइटमार्फत विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्ने गरी आयोगले कार्यविधिको मस्यौदा सार्वजनिक गरेको हो।

मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो।

पौडेलकाअनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन्।