काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्।गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।
उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो। उनीहरुबारे थप विवरण आउन बाँकी छ।यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ,तिब्बती मूलका बेल्जियममा नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए।
विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ। क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट’ब्रेक शु’मा हालेर ल्याइएको झण्डै सय किलो सुन बरामद गरेको थियो। सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।