काठमाडौं। नेपाली फिल्मी बजारमा अहिले नेपाली चलचित्र ‘बगान’ चौथो हप्तामा चलिरहेको छ । पछिल्लो समय नेपाली चलचित्र जगतमा खडेरी नै पर्याे भन्ने आलोचना भैरहेको बेला बगानले उत्साहपुर्ण रुपले त्यो भनाई गलत साबित गरिदियो ।
यो फिल्मले गरेको व्यापारले झन तहल्कै पिटेको छ । यसले चौथो हप्तामा आइपुग्दा फिल्म एक करोड ५० लाख बराबरको व्यापार गरेको छ ।
यसको कमाइलाइ हेर्दा सानो बजेटले बनेको फिल्मलाइ हेर्दा हल प्रदर्शनबाटै लगानी सुरक्षित गरेको अनुमान गर्न सकिन्छ । किनकि यो फिल्ममा न त महंगा सेट छन् न खर्चिला कलाकार । पारिवारिक कथामा बनेको फिल्मको खिचाइमा पनि तडकभडक छैन । ‘बगान’को व्यापारले दिएको सन्देश हो, महंगा कलाकार वा खर्चिला गीत बिना पनि दर्शकलाई हलमा बोलाउन सकिन्छ ।
अनि यसको सफलताले दिएको अर्को ठूलो सन्देश हो, पारिवारिक कथामा फिल्म बनाउनू, दर्शक ओइरिन्छन् ।‘बगान’ले एकल महिलाको विवाहको कथालाई प्रस्तुत गरेको छ । चलचित्रले प्रचार प्रसारमा एकल महिलालाई निःशुल्क फिल्म देखाउने स्किम ल्याएको थियो ।
यो स्किमले यो कलेक्सनमा कत्तिको योगदान गर्यो, आउँदो दिनमा स्पष्ट हुनेछ। किनकि हलमा एकल महिलाको आइडी देखाउनेलाई हलले टिकट दिएको छ जसको रकम निर्माताले हललाई फिर्ता गर्नुपर्नेछ । यो फिल्म अहिले पनि देशभरका ३८ वटा हलमा चलिरहेको छ। जसमा काठमाडौँको हलसंख्या १५ रहेको छ भने बाहिरको २३।
यसको असर फिल्मको कलेक्सनमा पनि देखिएको छ । फिल्मको ग्रस कमाइमा काठमाडौँको भन्दा काठमाडौँ बाहिरको योगदान धेरै छ । काठमाडौँमा यो फिल्मले अहिलेसम्म ६० लाखको व्यापार गरेको छ ।
१ करोड ५० लाखको व्यापार गरेको मान्ने हो भने यो फिल्मले काठमाडौँबाहिरबाट मात्र ९० लाखको व्यापार गरेको छ । विसुद्ध पारिवारिक पृष्ठभुमिमा निर्मित चलचित्र बगानलाई अझै सफलताको शुभकामना ।