काठमाडौं। कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको हो।
सर्वोच्च अदालतको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा दुई दलका शीर्ष नेताबीच छलफल भएको बताइएको छ।
बैैठकले कोशी प्रदेशका सत्तारुढ पार्टीहरुका संसदीय दलका नेताहरुलाई काठमाडौं डाकेको छ। आइतबार बिहान ९ बजे प्रदेश संसदीय दलका नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बुझिएको छ।
कोशी प्रदेशमा राप्रपालाई साथ नलिई सरकार बन्ने अवस्था क्षीण देखिएकाले सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा रहेको छ। सभामुखलाई राजीनामा गराउने विकल्पले पनि काम नगर्ने देखिएको निष्कर्षमा गठबन्धन पुगेको बुझिएको छ।
सभामुखले राजीनामा दिंदा उपसभामुखले पनि राजीनामा दिने संभावना देखेपछि सत्तारुढ गठबन्धन राप्रपालाई फकाउने कोशिसमा लागेको हो। राप्रपाले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन। ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ।
तर, गठबन्धनसँग ४६ मत मात्रै छ। यस्तै विपक्षमा एमालेका ४० र राप्रपाका ६ सांसद गरी ४६ मत नै रहेको छ ।