उपत्यकाको फोहोर भोलिसम्ममा उठाइसकिने

काठमाडौं।काठमाडौं महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ। बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो।एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका स्थानीयले फोहोर ल्याण्डफिल्ड साइट लैजाने अबरोध गरेका थिए ।

अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई माटोले पुर्ने र औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीवेशी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।