आजदेखि उठ्न छाड्यो काठमाडौंको फोहोर

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्न थालेपछि उपत्यकामा फोहोर उठाउन छाडिएको हो।

फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन्। यसैबीच,सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीबाट शुल्क असुल्ने निर्णय स्थगित गरेको छ ।

सर्वोच्चको आदेशको पालना गर्ने भन्दै ककनी गाउँपालिकाले फोहोरका गाडीहरुबाट पटके शुल्क असुल्ने निर्णय स्थगित गरेको हो। ककनीले प्रति गाडी एक हजारदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेकोमा त्यस विरुद्ध परेको रीटमा सर्वोच्चले शुल्क नउठाउन आदेश दिएको थियो।