एक हातमा राष्ट्रपति, अर्को हातले प्रचण्डलाई विश्वासको मत दिएका थियौं :पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ।

मंगलवारदेखि सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताउनुभएको हो।

एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पार्नुभयो । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबिचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको अपेक्षापनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताउनुभयो ।

उहाँले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रिय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गर्नुभयो ।