बङ्गलादेशलाई हराउदैं मैत्रीपूर्ण फुटबल शृङ्खलाको उपाधी नेपाललाई

काठमाडौं। बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाको उपाधि जितेको छ।आज ढाकाको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो।नेपालको जितमा वैकल्पिक गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन्। अञ्जना खेलको ९० औँ मिनेटमा एन्जिला तुम्बापो सुब्बाको ठाउँमा मैदान छिरेकी थिइन्।

अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाको प्रहार रोकिन्। यद्यपि उनले पेनाल्टी शुटआउटमा गोल गर्न सकिनन्। नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही रअनिता केसीले गोल गरे।

यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए।योसँगै नेपालले गएको वर्ष काठमाण्डौमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारेको बदला लिएको छ। नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो।