काठमाडौं। चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी बजेट खर्च भएको छ।आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज आइतबार अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
योसंगै चालु आर्थिक वर्षमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको हो।चालु वर्षका लागि विनियोजन गरिएको रकम मध्ये कुल ७९ प्रतिशत खर्च भएको राष्ट्र बैंकले जनाएको छ।यो वर्ष १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो।
गत जेठ १५ गते गरिएको संशोधित अनुमानको अनुसार यो खर्च ९५ प्रतिशत हो।संशोधित अनुमानमा १५ खर्ब ५ अर्ब खर्च गर्ने लक्ष्य राखिएको थियो। यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ। यो वर्षको लागि छुट्याइएको चालु खर्च ११ खर्ब ८३ अर्बको तुलनामा यो ८५ प्रतिशत हो।
जेठ १५ मा गरिएको संशोधित अनुमानको तुलनामा ३७ अर्ब कम खर्च भएको तथ्याङ्कले देखाएको छ। कुल खर्चमध्ये असार महिनामा मात्रै १७ प्रतिशत खर्च गरेको सरकारले पुँजीगत खर्चमध्ये ३४ प्रतिशत यही महिनामा खर्च गरेको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार आर्थिक वर्र्षको अन्तिम दिन आज सरकारी कुनै पनि भुक्तानी गर्न नपाइने व्यवस्था छ ।
सोही अनुसार महालेखाले भुक्तानी दायित्व अन्र्तगत शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरेको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० अनुसार हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकासा दिइने छैन भनिएको छ।