काठमाडौं। जिल्ला अदालत काठमाडौंले क्रिकेट सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । आज अदालतका न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले सो आदेश दिएको हो।
अदालत स्रोतका अनुसार उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन आदेशमा भनिएको छ। गौशाला २६ ले भने करिब ३६ हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन्। उनले मनोपरामर्शदातासँग प्रत्येक भिजिटको ३ हजारको दरले १० भिजिटको ३० हजार र औषधि उपचारको ६ हजार रुपैयाँ खर्च देखाएकी थिइन्।
यस सम्वन्धमा अदालतले नर्भिक अस्पतालका चिकित्सकको रिपोर्टसमेत मगाएको थियो। उक्त रिपोर्टमा अस्पतालको मेडिकल कन्सल्टेसनको १ हजार र काउन्सीलिङको १५ सय शुल्क लाग्ने जनाएको थियो ।अदालतले भने पिडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो।
यसअघि गौशला २६ ले सन्दीपबाट एक मुष्ट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् ।त्यसलाई भने अदालतले अस्वीकार गरेको थियो। अहिले अदालतको आदेश दिएको अन्तरिम क्षतिपूर्ति भने सरकारी कोषबाट भराउनुपर्ने हुन्छ ।