‘मैले ०८४ को निर्वाचनमा एकएक हिसाव दिन्छु’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ।

आज काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ०८४ को निर्वाचनमा एकरएक हिसाव लिएर जनतामाझ जाने बताउनुभयो। नागरिकका मुद्दामा खरो उपस्थिति आफैँमा गहन कुरा भएकाले पाँच वर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उहाँको भनाइ छ।

उहाँले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो। नयाँ राजनीतिक दलका रूपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफूहरूको कुनै लडाईं नरहेको उहाँले स्पष्ट पार्नुभयो ।