नरेन्द्र मोदी अमेरिकामा

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण बुधबारदेखि सुरु भएको छ।तीन दिने यो भ्रमणलाई दुबै देशले मोदीको ऐतिहासिक र अमेरिकाको पहिलो राजकीय भ्रमण भनेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी बुधबार बिहान न्युयोर्क पुगेका छन्।

भ्रमणको पहिलो दिन बुधबार मोदीले राष्ट्रसंघीय भवनमा नवौं विश्व योग दिवस कार्यक्रममा राष्ट्रसंघीय महासचिवसहित विश्वभरका कूटनीतिज्ञहरुका साथ सहभागी हुनेछन् ।

मोदीकै प्रस्तावमा राष्ट्रसंघले विश्व योग दिवस सुरु गरेको हो । प्रधानमन्त्री मोदीले बिहीबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने बिहीबार नै मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अमेरिका बसाइका क्रममा मोदीले एक दर्जन बढी चर्चित कम्पनीका प्रमुख कार्यकारीहरु तथा ब्यापारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । टेस्लाका मालिक एलन मस्क, अन्तरीक्ष बैज्ञानिक नील डीग्रास टाइसन, नोबेल पुरस्कार विजेता अर्थशास्त्री पल रोमर पनि मोदीको भेटघाटको सूचिमा रहेका छन् ।

मोदी जुन २४ तारिख स्वदेश फर्कने कार्यक्रम छ ।