राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ.राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।मुटुमा समस्या देखिएपछि हिजो उहाँलाई बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो। डा.अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यसअघि फोक्सोमा समस्या देखिएपछि गएको वैशाख ६ गते राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस एम्समा लगिएको थियो।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो।