तराईमा अझै केही दिन ’लु’ को जोखिम

काठमाण्डौ। तराई मधेसमा अझै केही दिन तातो हावा र ’लु’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ।

सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ।जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै२७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ।

यस्तै,नेपालगञ्ज,भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ।अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ।

तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो।

उहाँकाअनुसार पहाडी जिल्लामा भने आजपनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ।पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो।