देउवालाई गगनको जवाफः ‘नेतृत्वले गल्ती गर्दा ताली बजाउन सकिन्न, अब नेतृत्व नै बदल्ने हो’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन्। देउवाले गाली गरेर पार्टी नबन्ने धारणा सार्वजनिक गरेपछि त्यसको काउन्टर दिँदै महामन्त्री थापाले गलत निर्णयको पक्षमा ताली बजाएर मात्रै पार्टी नबन्ने बताएका हुन् ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने,गलत निर्णयका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताएका हुन् ।

गाली गरेर कांग्रेस अग्लो नहुने तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबने जिकिर गरेका हुन। नेपाली कांग्रेसलाई बदल्नै पर्ने उनले बताए। धेरै समय पार्टी र जनप्रतिनिधिको बिचको सम्बन्ध,गर्नुपर्ने काम र लिनुपर्ने नीतिको बारेमा समय खर्चिएका थापाले पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न सुझाए।

पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको थापाको आरोप छ।‘पार्टीले कहाँ गल्ती ग¥यो भने माथिदेखि तलसम्म कांग्रेसको मान्छेलाई हँसिया हथौडामा भोट हाल्न लगाउने कुरा गल्ती थियो।कांग्रेसको मान्छेलाई कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो।’

गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके पार्टीलाई ठिक ठाउँमा उभ्याउन सकिने बताए। पार्टीभित्र परम्परागत सोच र चिन्तन हाबी भएको दाबी उनले गरे।