देशभर अत्याधिक गर्मी बढ्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै,देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकोले अत्याधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ।शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका ‍एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।