जनमत पार्टीका २ सांसद कारबाहीमा, सांसदबाटै हटाउने निर्णय

काठमाडौं। जनमत पार्टीले दुई संघीय सांसदलाई कारबाही गरेको छ। काठमाडौंमा आज बसेको जनमतको केन्द्रीय समिति बैठकले सांसदद्वय सोनु मुर्मुर र बिनिता सिंहलाई कारबाही गर्ने निर्णय गरेको हो।

मोरङकी मुर्मुरलाई दलित कोटाबाट र सिरहाकी सिंहलाई आदिवासी जनजाति कोटाबाट जनमतले समानुपातिक सांसद बनाएको थियो। पार्टीको निर्देशन नमानेको भन्दै दुबै जनालाई निलम्बन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको स्रोतले जनाएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार सांसदद्वय मुर्मुर र सिंहलाई कारबाही गरी अन्यलाई पठाउने विषयमा अहिले छलफल जारी छ।प्रतिनिधिसभामा जनमतका ६ सांसद छन्। जसमध्ये मन्त्री भइसकेका सांसद अब्दुल खानलाई समेत कारबाही गर्नुपर्ने विषय बैठकमा उठेको छ। तर, उनी कारबाहीबाट जोगिएका छन् ।

खानेपानी मन्त्रीबाट राजीनामा दिएलगत्तै सांसद खानको एक महिलासँग भिडिओ कलमा गरेको अश्लील हर्कतको भिडिओ सार्वजनिक भएको थियो। उक्त विषयमा पार्टीले छानबिन गर्ने निर्णय पनि बैठकले गरेको बुझिएको छ ।